धादिङका शान कृशल कंडेल नेपाल आइडलको उत्कृष्ट १२ मा पर्न सफल

हाल धादिङबेशीमा बसोबास गर्दै आएका र धादिङ त्रिपुरासुन्दरी गाउँ पालिका सल्यनाकोटका स्थाई निवासी कृशल कंडेल नेपाल आइडल सिजन २ को उत्कृष्ट १२ मा पर्न सफल भएका छन् । आफ्नो सुमधुर आवाजले जजहरुको मन जित्दै आएका उनले शुक्रबारको प्रस्तुतीबाट अतिथिहरुलाई पनि खुशी पार्न सफल भएका थिए ।

उनलै हालै नीलकण्ठ मा.विबाट एस.ई.ई उतृण गरेका थिए । उनी धादिङ जिल्ला बाट सो स्थानमा पु्ग्ने पहिलो प्रतिस्पर्धी हुन् । उत्कृष्ठ १२ मा पर्न सफल भएपछि अब भोटिङको व्यवस्था पनि खुल्ला गराइने छ । सानैदेखि  उनले सानैदेखि थुप्रै उपाधी पाउनुका साथै हाल सम्पन्न लैबरी सिंगिङ स्टारमा दोश्रो स्थान हात पारेका थिए । उनी एक धाडिंग बासी मात्र नभएर हाम्रो शान हुन तेसैले सक्दो भोट गरी कृशल कंडेललाइ नेपाल आइडल सीजन २ को आइडल बनाऊ

अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना

Altitude Air Helicopter
३ भदौ, काठमाडौं । गोर्खाबाट काठमाडौं फर्किँदा सम्पर्कविहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा फेला परेको छ ।
धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ ।
पाइलट निश्चल केसीले उडाएको हेलिकोप्टरमा ७ जना सवार थिए । उनीहरुको अवस्था कस्तो छ भन्ने खुलेको छैन ।
स्थानीयले हेलिकोप्टर दुर्घटना भएको भनेर खबर गरेको प्रहरी स्रोतले बतायो । तर प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले हेलिकोप्टरमा कति जना सवार थिए र कस्तो अवस्थामा फेला परेको हो भन्ने विस्तृत विवरण नआएको बताए । उनले अनलाइनखबरसँग भने, ‘हेलिकोप्टर भेटियो भन्ने जानकारीमा आउनासाथ प्रहरी टोली मुभ भइसकेको छ । फोर्स ल्याण्डिङ हो कि दुर्घटना हो भन्ने खुलेको छैन ।’
प्रहरी घटनास्थलमा पुगेपछि मात्रै विस्तृत जानकारी आउने उनको भनाइ छ ।
गोर्खाको सामागाउँमा पर्यटक छाडेर, त्यहाँबाट बिरामी ल्याएर हेलिकोप्टर काठमाडौं फर्किँदै गर्दा सम्पर्कविहीन भएको थियो । गोर्खाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार करिब २५ माइल उडेपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो भन्दै अनलाइनखबरमा समाचार छl
गोर्खाको चुमनुब्री गाउँपालिकाको सामागाउँ मनास्लु क्षेत्रमा पर्दछ ।

भरतपुरमा बस ठोक्किए, २३ जना घाइते


भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् ।

काठमाडौँबाट दाङ जान आउँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ५ ख ५३११ नम्बरको बस राति ११ः५० बजे एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका हुन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको छ ।
घाइतेमध्ये ११ जना भरतपुर अस्पतालमा र अन्य १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । Source-Onlinekhabar

ज्यामरुङ्ग भासिने डर, १ सय ५० घरपरिबार त्रसित

धादिङ , ५ साउन – बस्ति भन्दा माथिको जमिन चिरा परेर पहिरो खस्ने अवस्था आएपछी धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ ज्यामरुङ्गका १ सय ५० घर परिवार त्रसित हुन पुगेका छन् ।
भुकम्पका कारण हल्लिएर चिरा चिरा भएको जमिन माथि सडक खन्ने काम भएपछि बस्तीमा जुनसुकै वेला पहिरो आउन सक्ने अवस्था आएको स्थानीयले वताए । आफुहरुले पटक पटक त्यस्तो ठाउँमा सडक नखन्न आग्रह गर्दा समेत नगरपालिकाले अटेर गरी सडक खनेका कारण यस्तो अवस्था आएको त्यहाँका स्थानीय रामवहादुर थापा मगरले बताए ।
सडक छेउमा गहिरो खाडल परेर जमिन चिरिएपछि ज्यामरुङ्गको दमैचौतारा भन्ने ठाउँ जुन सुकै समयमा पनि पहिरिने खतरा बढेको छ । जमिन चिरा परेका ठाँउ वरपर स–साना पहिरोे खस्न सुरु गरिसकेको छ । पहिरोका कारण दमै चौताराका लम्साल गाँउ,लामिछाने गाँउ,सिम्ले ज्यामरुङ्ग र पाङ्ग्रे गाँउका करिव एक सय पचास घरधुरी पहिरोको उच्च जोखिममा रहेको छ । जमिन चिरिएर जोखिम वढेको स्थानबाट बस्ती निकै नजिक सिधा तल रहेकाले जुनसुकै वेला पहिरोको त्रासमा स्थानीय परेका छन ।
फाटेको जमिनको सतहले पहिरोको रुप लियो भने, ज्यामरुङको लम्साल गाउँ, लामिछाने, सिम्ले, पाङ्ग्रे गाउँका १ सय ५० घर धुरी विस्थापित हुने नीलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष तिलकबहादुर थापामगरले बताए ।
विहिबार बसेको वडा स्तरिय दैविक प्रकोप उद्दार समितिको वैठकले समेत उक्त प्रभावित क्षेत्रका स्थानिय १ सय ५० घर परिवारलाई सुरक्षित स्थानमा सार्न जिल्ला स्थित सरोकारवाला निकायहरुलाई अनुरोध गर्ने निर्णय गरेको समेत अध्यक्ष थापाले जानकारी दिए ।
निरन्तरको वर्षाले पहिरोको जोखिम बढे सँगै स्थानियहरु त्रासमा रात विताउन वाध्य भएका छन् । दमैचौतारा डाँडाको उत्तर तर्फको पाखामा सडक खन्ने क्रममा डोजरले थर्काए पछि र सडकले पाखाको तह तहमा खण्डित गरेका कारण नै जमिन फाटेको स्थानियको भनाई छ ।
जिल्ला दैविक प्रकोप उद्दार समिति धादिङको संयोजक प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालको नेतृत्वमा शुक्रवार स्थलगत अनुगमनमा गएको टोलिले पनि उक्त स्थानमा जुनसुकै समयमा पहिरोजान सक्ने हुनाले स्थानियलाई सचेत रहन आग्रह गरेको छ ।
धादिंग ज्यामरुङ्ग
यता नीलकण्ठ नगरपालिका वडा नम्बर ११ ले सार्वजनिक सुचना जारी गर्दै मञ्जुश्री मावि प्राङ्गणबाट पश्चिम तर्फ र स्वाथ्यचौकी रहेको पाङ्ग्रेबाट पूर्व तर्फ पर्ने सबै भुभाग (साविकको ज्यामरुङ गाविसका वडाहरु ३ र ४ को सबै भुभाग) का स्थानियहरुलाई सुरक्षित बसोबास गर्न अनुरोध समेत गरेको छ । पहिरोका कारण आफुहरुलाई खतरा भएको भन्दै नगरपालिका संग सुरक्षित स्थानमा स्थानान्तरण गरिदिन गाउँवासीले आग्रह गर्दैआएपनि सुनुवाई नभएको स्थानीयको आरोप छ ।
नीलकण्ठ नगरपालिका ११ नम्बर का वडाका अध्यक्ष थापाका अनुसार पानी परेको समयमा जुनसुकै बेला पनि पहिरो खस्न सक्ने भन्दै स्थानीयहरुलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिसकिएको छ । सो स्थानमा सुख्खा पहिरो खस्न सक्ने सम्भावना पनी त्यतिकै रहेको अध्यक्ष थापाले वताए ।
यसै गरी नगरपालिकाले सो वस्तिलाई सुरक्षित स्थानमा सार्न विषेश पहल गरिरहेको र भु–गर्वविद ल्याई सो स्थानको जमिनको भौगर्भिक अवस्था जाँचबुभका लागी पहल भई रहेको नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले जानकारी दिए भन्दै धादिंगन्युजमा खबर छ l 

विश्वविद्यालय अनुसन्धानमा केन्द्रित हुनुपर्छ : ओली

 प्रधानमन्त्री केपी ओलीले विश्वविद्यालयलाई अध्यापन मात्र नभई देशलाई निर्देश गर्न सक्ने अनुसन्धान गर्न निर्देशन दिएका छन् ।




त्रिभुवन विश्वविद्यालयको ५९ औं वार्षिकोत्सव समारोह तथा त्रिवि सभालाई शनिबार सम्बोधन गर्दै ओलीले समृद्धिको खाकाअनुसार जनशक्ति व्यवस्थापन गर्न नयाँ शिक्षा नीति ल्याउन लागेको बताए ।
‘अब विश्वविद्यालयले पढाउने मात्र होइन, नतिजा दिन सक्ने अनुसन्धान केन्द्रको समेत काम गर्न जरुरी छ, अनुसन्धानको नतिजाले देशलाई डोर्‍याउन सक्ने हुनुपर्छ,’ उनले भने । कुनै अध्ययन–अनुसन्धानबिनै विश्वविद्यालयले कलेजको सम्बन्धन दिएकाले देशमा बेरोजगारी बढेको दाबी गर्दै उनले पढेका मान्छे बेरोजगार हुन नपरोस् भनेर क्षेत्रगत रुपमा आवश्यक जनशक्तिको अध्ययन गरी त्यसैअनुसार शिक्षा नीति तर्जुमा गर्न लागेको जानकारी दिए । ‘विकास र समृद्धिको अभियानलाई सहयोग पुग्ने गरी क्षेत्रगत रूपमा जनशक्तिको माग र आपूर्ति हुने अवस्थाको अध्ययन भइरहेको छ । अहिले शिक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगले अध्ययन गर्दैछन् । यसको प्रतिवेदन आएपछि कुन क्षेत्रमा कति जनशक्ति उत्पादन गर्नुपर्ने रहेछ भन्ने स्पष्ट खाका आउँछ’ उनले भने ।
त्रिवि सभाले विभिन्न संकाय तथा अध्ययन संस्थाबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि उपाधियोग्य विद्यार्थीको ५६ औं ग्रेसलिस्ट पास गरेको छ ।

जसमा शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी तथा सामाजिकशास्त्र, कानुन संकाय र वनविज्ञान तथा प्रविधि, इन्जिनियरिङ, चिकित्साशास्त्र, कृषि र पशुविज्ञान र वनविज्ञान अध्ययन संस्थानका गरी ७३ हजार ९ सय १ जना छन् । ‘तीमध्ये प्राविधिकतर्फ उपाधि प्राप्त गर्ने विद्यार्थी गत वर्षको तुलनामा १ दशमलब १५ प्रतिशतले बढेर १४ दशमलव ९१ प्रतिशत पुगेको छ,’ रजिस्ट्रार डिल्लीराम उप्रेतीले जनाए ।
जग्गादातालाई सम्मान
प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई विभिन्न समयमा जग्गा दान गर्ने दाताहरूलाई सम्मानपत्र प्रदान गरेका थिए । झापाको मेची क्याम्पसलाई १ सय २० बिघा ३ कठ्ठा प्रदान गर्ने देवीप्रसाद उप्रेती, राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसलाई ९८ बिघा १८ कठ्ठा जग्गा दान गर्ने विन्देश्वरप्रसाद यादव र पर्साको ठाकुराम क्याम्पसलाई १४ बिघा जग्गादाता महावीर प्रसाद र रघुवीर रामलाई मरणोपरान्त सम्मानपत्र उनीहरूको परिवारलाई प्रदान गरिएको थियो ।
त्रिविको ५९औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री केपी ओलीले विश्वविद्यालयलाई विभिन्न समयमा जग्गा दान गर्ने दाताहरूलाई सम्मानपत्र प्रदान गरे । 
त्यसैगरी सिरहाको सूर्यनारायण सत्यनारायण मरवैता यादव क्याम्पसलाई ५ बिघा १७ कठ्ठा जग्गादाताका छोरा विश्वेश्वर मरवैता यादवलाई सम्मानपत्र प्रदान गरिएको थियो । त्यसैगरी धनुषाको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसलाई ५७ बिघा १४ कठ्ठा जग्गादाता रामस्वरूप साह र रामसागर साहका नाति सुभासचन्द्र साहलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

पुस्तक सार्वजनिक
वार्षिक दिवस तथा पदक वितरण समारोहमा उपकुलपति तीर्थराज खनियाँले ‘त्रिभुवन विश्वविद्यालय दीक्षान्त भाषणको संग्रह’ (२०१७–२०७४) सार्वजनिक गरेका छन् । पुस्तक करिब ७ सय पृष्ठको छ । २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयले २०१७ सालमै पहिलो दीक्षान्त समारोह आयोजना गरेको थियो ।


पहिलो उपकुलपति सुवर्णशमशेर राणादेखि वर्तमान १८ औं उपकुलपति तीर्थराज खनियाँसम्मको कार्यकालमा भएका दीक्षान्त समारोहका भाषण समेटिएका छन् । त्रिविले अहिलेसम्म ४३ औं दीक्षान्त समारोह सम्पन्न गरेको छ । यस पुस्तकभित्र विदेशी र स्वदेशी प्रमुख अतिथिको भाषण, कुलपति, सहकुलपति र उपकुलपतिको दीक्षान्त भाषण समावेश छ ।

ह्याम्पसायर – इंग्ल्यान्डमा पारसको सान्दार शतक

कप्तान पारस खड्काले इंग्ल्यान्ड भ्रमणमा सानदार शतक बनाएका छन् । पारसको १ सय ६१ रनमा नेपाली टोली शनिबार पहिलो अभ्यास खेलमा ह्याम्पसायर होग्स क्रिकेट क्लबविरुद्ध पूरा ५० ओभर खेलेर ३ सय ६२ रनमा अलआउट भएको थियो । 

ओपनर ज्ञानेन्द्र मल्ललाई ५ रनमै गुमाएपछि आएका पारसले १ सय ६ बलको इनिङ्समा १९ चौका र ७ छक्का प्रहार गरे। तीन वर्षको अन्तरालपछि राष्ट्रिय टोलीमा पुनरागमन गरिरहेका अर्का विकेटकिपर सुवास खकुरेल ११ रनमा आउट भए। शरद भेषावकर १४ रनमा आउट भएपछि पारसले दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र रोहितकुमार पौडेलसँग मिलेर इनिङ्स उकासेका थिए।


दीपेन्द्रले ३७ र आरिफले २७ रन बनाए। पारस ३८ औं ओभरमा आउट भएपछि नेपालको रनमा केही अंकुश लागे पनि रोहितले पुन: खुलेर खेले। रोहितले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरी ४४ रन बनाए। दीपेन्द्रले ४६ बल खेल्दै ५ चौका र आरिफले २५ बल खेल्दै ३ चौका प्रहार गरे। करण केसी १८ तथा सन्दीप लामिछाने र ललितसिंह भण्डारी समान १६ रनमा आउट भए। ललित इनिङ्सको अन्तिम बलमा पेभेलियन फर्किए। नटआउट ललितनारायण राजवंशीको खातामा २ रन थियो। स्थानीय टोलीका मिल्स कोभरले ३ विकेट लिए। यो समाचार तयार पार्दा ह्याम्पसायरको ब्याटिङ सुरु हुन लागेको थियो।

ह्याम्पसायरले ३० वर्षपछि अन्तर्राष्ट्रिय टोलीलाई आफ्नो मैदानमा बोलाएर खेलेको हो।
नेपालले थप तीन अभ्यास खेल खेलेपछि लर्डसमा एकदिने ट्वान्टी–२० त्रिकोणात्मक शृंखलामा सहभागिता जनाउने छ। त्यसमा मेरिलेबोन क्रिकेट क्लब र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि नेपालले एमस्ट्राडममा गएर नेदरल्यान्ड्ससँग वान–डे अन्तर्राष्ट्रिय खेल्नेछ। नेपालले पहिलोपल्ट वान–डे अन्तर्राष्ट्रिय खेल्न लागेको हो।
source-ekantipur

डा. केसीको माग पुरा नभए देशमा आगो बल्छः सुशीला कार्की

५ साउन, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले डा. गोविन्द केसीको माग पुरा गर्नै पर्ने बताएकी छन् ।

 आमरण अनसनरत डा. केसीको समर्थनमा शनिबार भएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्कीले आफूहरु सरकार विरोधी नभएको बताइन् । जनताबाट मत पाएकाले सरकार खसोस् भन्ने पनि आफूहरूले नचाहेको भन्दै उनले भनिन्, सरकार खसोस् भन्ने पनि हाम्रो इच्छा होइन । तर, सरकारले जनताले भनेको मान्नुपर्छ । 
 डा. केसीले जनताको भावना बोलेको भन्दै कार्कीले उनका मागहरू पुरा गर्न सरकारलार्इ आग्रह गरिन् । पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘यसलाई पोलिटिकल भनेर क्यास गर्ने प्रयास नगरियोस् । 
डा. केसीले जे मागेका छन्, त्यो पूरा गर्नुपर्छ । यदि पूरा भएन भने देशमा आगो बल्छ । सत्याग्रही डा. केसीलाई कहिले कांग्रेस त कहिले के भनेर आरोपित गर्ने गरिएको भन्दै उनले असन्तुष्टि समेत जनाइन् । कार्कीले भनिन्, म सरकारसँग के अनुरोध गर्दछु भने डा. केसी, कुनै दलका कार्यकर्ता होइनन् । आफ्नो शैलीमा डा. केसीलाई कहिले कांग्रेस भनेको छ, कहिले अरुलाई कांग्रेस भनेको छ । त्यो बेकार हो ।
 चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक ल्याउनु पर्ने माग राख्दै डा. केसी १६ असारदेखि अनसनमा छन् । जुम्लामा अनसन बसेका उनको स्वास्थ्य गम्भीर भएपछि सरकारले बिहीबार काठमाडौं ल्याएको छ । 
 उनले अहिले शिक्षण अस्पतालमै अनसन जारी राखेका छन् । Source- Onlinekhabar

प्रधानमन्त्रीसँग कड्किए देउवा, कडा आन्दोलन गर्ने चेतावनी

५ साउन, काठमाडौं । तरुण दलको प्रदर्शनमा दमन भएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसामू आक्रोश पोखेका छन् । देउवा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

उनले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको यस्तै व्यवहार रहे अझ कडा आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् । आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै समस्याको समाधान भएको भन्दै उनले डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सुझाव दिए ।

 ‘सरकारले मनपरी ढंगले ल्याउन खोजेको विधेयक पुन अघि बढाए संसद र सडकमा प्रतिवाद गर्ने चेतावनी दिनुभयो’, मुख्यसचिव कृष्णप्रसाद पौडेलले भनेका छन् । त्यसअघि बानेश्वरस्थित सिभिल अस्पताल पुगेर उनले तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसहितका घाइते नेताहरुलाई भेटेका थिए ।

उनले शान्तिपूर्ण जुलुसमा लाठीचार्ज गरेर घाइते बनाएको भन्दै आइन्दा यस्तो नगर्न चेतावनी दिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारी हस्तक्षेपको सशक्त रुपमा प्रतिवाद गर्ने बताए । सार्वजनिक महत्वका मुद्धामा सरकारलाई सचेत गराउन भेला तथा प्रर्दशन गर्न पाउने संविधान प्रदत्त अधिकार खोस्न खोजेको उनको आरोप छ ।

 अधिनायकवाद उन्मुख सरकारी शैलीको एकीकृत र सशक्त ढंगले प्रतिवाद गर्ने प्रवक्ता शर्माले बताए । Source- Onlinekhabar

ग्रामिण यातायातको विवाद चरम उत्कर्षमा

धादिङबेसी असार २४ । नेपालको पहिलो यातायात सहकारी ग्रामिण यातायत सहकारी संस्था लि. चरम विवादमा फसेको छ । युद्धको पृष्टभुमिबाट यातायातको सिण्डिकेट टोड्दै स्थापना भएको ग्रामिण यातायत सहकारी संस्था लि. अहिले संचालक समिति भित्र भएको विवादले चरम रुप लिएको हो । संस्थाका अध्यक्ष हरिबहादुर श्रेष्ठ र कोषाध्यक्ष बद्री सुवेदीले आर्थिक हिनामिना तथा दुरुपयोग गरेको संस्थालाई व्यवसायीहरुको हित विपरित संचालन गराएको महासचिव उमेश श्रेष्ठले आरोप लगाएका छन् । महासचिव श्रेष्ठ भन्छन्, हिजो हरि श्रेष्ठ महासचिव हुँदा बैकखातामा महासचिवको हस्ताक्षर अनिवार्य हुने आज म महासचिव हुँदा महसचिवको हस्ताक्षर नचाहिने आफु अनुकुल रकम झिक्ने, व्यक्तिगत काम प्रयोजनको लागि प्रयोग गर्ने, बैक भौचर र स्टेटमेन्ट माग्दा कर्मचारीहरुले समेत देखाउँदैनन् । कर्मचारी नियुक्ती, तलव बृद्धि र कर्मचारीको सेवा सुविधा र ठुलो एमाउण्टमा पैसा झिक्दा र खर्च गर्दा समेत महासचिवलाई जानकारी नगराई अध्यक्ष हरि श्रेष्ठले कोषाध्यक्ष बद्री सुवेदी सँग मिलेर मनोमानि गरि रहेकोले विवाद सृजना भएको समेत उनले बताए । नीतिगत रुपमा पनि बहस भएको भन्दै लाखौ लगानी गर्ने व्यवसायी गुमगाम राख्दै सहकारी सदस्यहरु समेतलाई जानकारी नगराई महत्वपूर्ण अर्थ राख्ने निर्णय समेत अध्यक्ष क्षेष्ठले छलफल नै नगराई व्यक्तिगत ढंगले निर्णय गर्नेगरेको उनको आरोप छ । महासचिव श्रेष्ठ भन्छन्– अध्यक्ष श्रेष्ठ र कोषाध्यक्ष प्रविद्धिले न सहकारी रहन्छ न ग्रामीण यातायात त्यसैले कानुनी रुपमा पनि छलफल अगाडी बढेको छ, निर्वाचित सांसद खेम लोहनी, भुमि त्रिपाठी र जगत सिंखडा सँग छलफल पनि जारी राखेका छौ यहि स्थितिमा हामी व्यवसायीहरु ग्रामिण यातायातको नाममा लुटिन चाहान्नौ । तात्कालिन नेकपा माओवादीले जन्माएको ग्रामिण यातायातमा अहिले नयाँ शक्ति पार्टीको पनि बलियो उपस्थित कार्य समितिमा देखिन्छ । तात्किालिन माओवादीका जिल्ला उपाध्यक्ष तथा नेकपा धादिङका नेता रामबहादुर भण्डारी ग्रामिण यातायातको विवादको विषयमा आफुलाई आधिकारीक रुपमा जानकारी नआएको बताउँछन् । ग्रामिण यातायात पार्टी र जनताको सम्पत्ति हो, यसलाई पारदर्शि ढंगले चलाईनु पर्छ । हरि श्रेष्ठलाई पार्टी कै निर्देशनमा अध्यक्ष बनाईएको हो, आर्थिक र नितिगत रुपमा कुराहरु बाहिर आएपछि हामी नेकपाका नेताहरु बसेर के भएको हो समाधानको प्रयास गर्दछौ नेेेेता भण्डारीले भनेे । यस विषयमा बुझ्न खोज्दा अध्यक्ष श्रेष्ठलाई फोन सम्पर्क हुन सकेन भने कोषाध्यक्ष बद्री सुवेदी भन्छन् उमेश जीहरु छुट्टै संस्था दर्ता गरेर बस संचालन गर्दै हुनुहुन्छ ? शनिबारको भेलामा पनि उहाँको प्रस्तुती संस्था विपरित रह्यो संस्थाबाट बाहिरन उहाँको आक्रोस बाहेक केहि होइन । source-Dhadingpost